जेठ ४ । दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा एकसाता यता संक्रमितको दैनिक वृद्धिमा कमी आएको छ। लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ २ लाख ६३ हजार ६५ जनामा संक्रमण भएको छ। संक्रमितको यो संख्या सोमबारको तुलनामा करिव २० हजारले कम हो।
यसअघि भारतमा पहिलो पटक १८ वैशाखमा कोरोना संक्रमितको दैनिक वृद्धि ४ लाख नाघेको थियो। संक्रमितको संख्या २४ वैशाखमा भारतमा सबैभन्दा उच्च विन्दुमा ४ लाख १४ हजार ४३३ पुगेको थियो। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा दैनिक संक्रमितसँगै परीक्षण गरिएकामा कोरोना पोजेटिभ देखिने दर पनि घटेको छ।
मे ८ देखि १४ सम्ममा भारतमा परीक्षण गरिएकामध्ये १९.५ प्रतिशतलाई कोरोना देखिएको छ। त्योभन्दा अघिल्लो साता त्यो दर २२.४ प्रतिशत रहेको टाइम्स अफ इण्डियाले जनाएको छ।
मे ८ मा भारतभरि ३ लाख ९१ हजार नयाँ कोरोना संक्रमित थपिएका थिए भने शनिबार त्यो संख्या ३ लाख ५४ हजार थियो। संक्रमितको दर घटे पनि मृत्युदर भने उल्लेख्यरुपमा घटेको छैन। अहिले पनि दैनिक चार हजारको हाराहारी संक्रमितको मृत्यु भइरहेको छ।
पछिल्लो २४ घण्टामा त्यहाँ ४ हजार ३४० जनाको मृत्यु भएको छ। यो संख्या सोमबारको भन्दा २४८ ले बढी हो। पछिल्लो विवरणअनुसार भारतमा कोरोना संक्रमितको मृतक संख्या २ लाख ७८ हजार ७५१ पुगेको छ।
यो समाचार तयार पार्दासम्म भारतमा २ करोड १५ लाख ९० हजार ३ जना संक्रमणमुक्त भएका छन्। अब भारतमा सक्रिय संक्रमितको संख्या ३३ लाख ५९ हजार २१६ छ।


























