रौतहट, बैशाख २५ । कोरोना संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले शनिबारबाट जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ। प्रशासनले होटल, रेस्टुरेन्ट, फेन्सी र कपडाका पसलहरु बन्द गराएको छ। जिल्लामा सञ्चालित हाटबजारहरु यसअघि नै बन्द गराइसकेको छ।
जिल्लाका अधिकांश बजार, होटल, रेस्टुरेन्टहरुमा भीडभाड बढी हुन थालेपछि प्रशासनले वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाएको हो। कार, जिप, मोटरसाइकललगायतका निजी सवारीहरु बन्द गराइए पनि निषेधाज्ञामा मानिसलाई पैदल हिँड्न भने छुट दिइएको छ।
सुरक्षाकर्मीले चोकचोकमा बसेर पास बिनाको सवारी रोक्ने र २ घण्टासम्म होल्डमा राख्ने गरेको छ। निषेधाज्ञाका कारण सडक सुनसान छ। प्रशासनले खाद्यान्न लगायतका पसलहरु खोल्न अनुमति दिए पनि व्यापारीले खोलेका छैनन्।
प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले जिल्लामा संक्रमितको संख्या बढ्न थालेपछि नियन्त्रण गर्न निषेधाज्ञा जारी गरेको बताए। कोरोना संक्रमणका कारण जिल्लामा दुई साताको अवधिमा १३ जनाको मृत्यु भएको छ। अहिलेसम्म जिल्लामा कोरोना संक्रमितको संख्या २ सय ५३ पुगेको छ।


























