काठमाडौं, बैशाख २५ । कोरोना संक्रमित पत्रकार दिनेश दाहालको मृत्यु भएको छ। संक्रमण पुष्टि भएपछि उपचाररत उनको उपचारकै क्रममा निधन भएको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासचिव रोसन पुरीले एक विज्ञप्ति जारी गर्दै नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य दिनेश दाहालको कोरोना संक्रमणका कारण ४० वर्षको अल्पायुमै निधन भएको उल्लेख गरेका छन्।
वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा रहेका दाहाललाई श्वास फेर्न समस्या भएपछि वैशाख १० गते ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। १५ दिनदेखि उपचाररत दाहालको आज बिहान उपचारको क्रममा निधन भएको हो।
दाहाल विगत दुई दशकदेखि पत्रकारितामा सक्रिय थिए। उनको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक कुशल र जुझारु युवा पत्रकार गुमाएको महासंघले जनाएको छ।
स्वर्गीय दाहालका श्रीमती, एक छोरा र एक छोरी छन्। दाहालको निधनसँगै नेपालमा कोरोनाकै कारण हालसम्म ८ जना पत्रकारको निधन भएको छ। ६ सय ५० भन्दा बढी पत्रकार संक्रमित छन्।


























