नवलपुर, बैशाख २३ । नवलपुरमा कोरोना संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ। होम आइसोलेशनमा रहेका एक जना र अस्पतालमा उपचार गराइरहेका दुई पुरुषको आज मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वका प्रमुख केशव चापागाईँले बताए।
कोरोना संक्रमण पुष्टी भई होम आइसोलेशनमा रहँदै आएका कावासोती नगरपालिका ८ का ६३ वर्षीय पुरुषको आफ्नै निवासमा मृत्यु भएको हो।
यस्तै, गैंडाकोट नगरपालिका २ का ७३वर्षीय पुरुषको चितवनस्थित चितवन मेडिकल कलेज ९सीएमसी०मा मृत्यु भएको छ । योसहित नवलपरासीपूर्वमा कोरोनाको दोस्रो लहरपछि मृत्यु हुनेको संख्या ७ पुगेको छ।
पछिल्लो पटकको संक्रमणबाट अहिलेसम्म जिल्लामा ५ सय ६० जना संक्रमित भएका छन्। संक्रमितमध्ये मध्यबिन्दु जिल्ला अस्पतालमा १८ जना, मध्यबिन्दु नगरपालिकाको चोरमारा हेल्थपोष्टमा २ जना र विनयी त्रिवेणीको दुम्किबास हेल्थपोष्टमा १ जना छ। अन्य सबै संक्रमित होम आइसोलेशनमा नै रहेको स्वास्थ्य प्रमुख चापागाईँले बताए।
मध्यबिन्दु जिल्ला अस्पतालमा हिजो स्वाव संकलन गरिएका मध्ये आज विहान आएको रिपोर्टमा ४१ जनामा संक्रमण पुष्टी भएको छ।


























