बैशाख २२ । लोकप्रिय संगीतकार तथा गायक शम्भुजित बाँस्कोटा संगीत सिर्जनासँगै गायन शैलीका कारण पनि चर्चित छन्। भन्नेहरू भन्छन् उनको संगीत भन्दा स्वर राम्रो, स्वरभन्दा संगीत राम्रो । अर्थात् उनको स्वर र संगीत उत्तिकै राम्रो।
यिनै मेलोडी किङ शम्भुजित बाँस्कोटाको संगीत र स्वरमा पर्यो माया जालैमा बोलको ताजा गीत हालै सार्वजनिक भएको छ। गीतमा बाँस्कोटाको स्वर जवान सुनिन्छ भने उनलाई स्वरमा साथ दिने गायिका मञ्जु थापाको स्वर पनि त्यत्तिकै मिठासपूर्ण लाग्छ। गीतको शब्द रचना रोचक लाग्छ। गोर्खा भीएस दोलखा भनिएको उक्त गीतमा गोर्खाकी युवती र दोलखाका युवक बीचको माया प्रेमबारे चर्चा गरिएको छ।
गीतको म्युजिक भिडियो पनि आकर्षक बनेको छ। म्युजिक भिडियोमा नायक पुष्प खड्कालाई नायककै रूपमा प्रस्तुत गरिएको छ। भिडियमो सुनिशा बजगाईंको नृत्य रहेको छ भने गायक बाँस्कोटा र गायिका थापा समेतलाई देख्न सकिन्छ। गीतको म्युजिक भिडियो सुरेन्द्र बसेलको कोरियोग्राफी र निर्देशनमा तयार भएको छ भने बुद्ध थापाको छायांकन र नवीन निरौलाको छायांकन रहेको छ।


























