चितवन, बैशाख २२ । नारायणगढ रोटरी क्लबले वाग्मती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरलाई कोरोना रोकथामका सामग्री सहयोग गरेको छ। क्लबका अध्यक्ष अनुकूल श्रेष्ठले मङ्गलबार ट्राफिक प्रहरी उपरीक्षक शान्तिराज कोइरालालाई कोरोना रोकथामका लागि आवश्यक सामग्री हस्तान्तरण गरेका हुन्। कार्यक्रममा क्लबका पूर्वअध्यक्ष मनोज प्रधान, विज्ञानलाल श्रेष्ठ, राजेन्द्र ओली र सञ्जय श्रेष्ठ एवं उक्त कार्यालयका प्रहरी निरीक्षक मुनेन्द्र थापाको उपस्थिति थियो।
नेपालमा पुनः महामारीको रूपमा पैmलिरहेको कोरोनाको दोस्रो लहर र यसले सिर्जना गरेको कठिन परिस्थितिमा पनि दैनिकरूपमा अग्रपङ्क्तिमा रहेर काम गर्नुपर्ने ट्राफिक प्रहरीको स्वास्थ्यलाई मध्यनजर गर्दै नारायणगढ रोटरी क्लबद्वारा उक्त कार्यालयका लागि ५०० थान फेस मास्क, १० लिटर स्यानिटाइजर र १२५ मिलिलिटरको स्प्रे बोटल वितरण गरिएको क्लबले जनाएको छ। सहयोग सामग्रमध्ये क्लबका पूर्वअध्यक्ष मनोज प्रधानले आफ्नो व्यावसायिक प्रतिष्ठान टाइम फर्मास्युटिकल्सबाट उत्पादित पाँच लिटर स्यानिटाइजर सौजन्य गरेको क्लबका अध्यक्ष श्रेष्ठले बताए। रासस


























