नवलपुर, बैशाख २० । चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरसोरमा रहेको हात्ती प्रजनन तथा तालिम केन्द्रमा रहेको हात्तीले छावा जन्माएको छ।
प्रजनन केन्द्रमा रहेको नारायणीकली हात्तीले आज बिहान २ बजे छावा जन्माएको निकुञ्जका सूचना अधिकारी सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए। सुत्केरी हात्ती र उनको छावा (भाले) को अवस्था स्वस्थ तथा स्फूर्त रहेको अधिकारीले बताए। सुत्केरी हात्तीको स्याहारका लागि तीन जना हात्तीसार कर्मचारी खटाइएको उनले बताए।
नारायणीकली निकुन्जकै बगाई माडी सेक्टर कार्यालय माडीमा खटिएको बेला गर्भवती भएकाले उनलाई कामकाजबाट फिर्ता गरी खोरसोर प्रजनन् केन्द्रमा राखेर स्याहार सुसार गरिँदै आएको अधिकारीले बताए। नारायणीकलीले यसअघि माडीगज र लक्कीगज नामका दुई हात्तीलाई जन्म दिइसकेकी छिन्। ती दुवै हात्ती भर्खरै सम्पन्न राष्ट्रिय गैँडा गणना २०७७ मा समेत सहभागी भएका निकुञ्जले जनाएको छ।
खोरसोरमा यो नवजात छावा हात्तीसँगै १० बच्चा हात्ती पुगेका छन्। नवजात छावासहित चितवन राष्ट्रिय निकुञ्जमा हात्तीको कुल सङ्ख्या ५१ तथा कोशीटप्पु वन्यजन्तु आरक्षबाट कामकाजमा खटिएका छ गरी जम्मा ५७ हात्ती पुगेका अधिकारीले बताए। रासस


























