बैशाख १७ । कोरोना प्रभाव ब्रोइलर कुखुराको मासुमा पनि देखिएको छ। कोरोनाका कारण होटेल व्यवसाय तथा उपत्यका छेडेर सबै गाउँ फर्किएका कारण निरन्तर ब्रोइलर कुखुराको मासुमा गिरावट आउन थालेको छ।
केही समय अघि अहिले सम्मकै उच्च बिन्दुमा पुगेको ब्रोइलर कुखुराको मासुको मूल्य एक सातामै तेस्रो पटक घटेको छ। आज (शुक्रवार) बाट लागु हुने गरी ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्ड स्टोर मूल्य २० रुपैयाँले घटेको छ। २० रुपैयाँले घटेर ब्रोइलर जिउँदो कुखुराको मासुको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुगेको राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंगबहादुर बिसीले बताए।
यता तयारी मासुको मूल्य ३८० रुपैयाँमा झरेको संघले जनाएको छ। उनका अनुसार कोरोनाका कारण खपत कम हुँदा मूल्यमा गिरावट आएको हो। ‘कोरोनाका कारण उपत्यका निषेधाज्ञा छ। होटेलहरू पनि सब बन्द छ। उपभोक्ताहरू पनि उपत्यका छोडेर गइसकेका छन्। त्यसैले मूल्य घटेको हो।’ उनले भने।
गत वैशाख १२ गते किलोमा १० रुपैयाँले घटेर तीन सय रुपैयाँमा झरेको जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य मंगलबार पुनः १० रुपैयाँले नै घटेर २९० रुपैयाँ आइपुगेको थियो।


























