काठमाडौं, बैशाख १७ । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ।
गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी विज्ञप्तिमा निषेध आदेश जारी भएका ठाउँमा अत्यावश्यक बाहेकका सार्वजनिक सेवा तथा आवगमनका रोक लगाइने भएकाले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न आम सर्वसाधारणमा आग्रह गरिएको हो।
कोरोना संक्रमणको गति बढ्दै गएपछि देशभरका ७७ जिल्लामध्ये बिहीबारसम्म १५ जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञाको आदेश जारी गरिएको छ।
विज्ञप्तिमा ‘कोरोना संक्रमण दोस्रो लहरमा तीव्र गतिमा फैलिरहेका कारण उत्पन्न विषम परिस्थितिको सामना गर्न सरकारको प्रयासको अतिरिक्त अन्य सबै सरोकारवालाको सहयोग र सहकार्य जरुरी भएको’ उल्लेख छ।
Facebook Comments


























