बैशाख ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा २ हजार ३६५ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएका हुन्।
१० हजार १ जनाको पीसीआर र ४४७ को एन्टिजेन परीक्षण गरिएको उनले जानकारी दिए। योसहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ।
यसैगरी २४ घण्टामा २५२ जना डिस्चार्ज भएका छन्। हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७६ हजार ३४५ पुगेको छ। निको हुनेको दर ९४।६ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ५ कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको संख्या ३ हजार ११७ पुगेको मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या १२ हजार ६९० पुगेको छ।


























