नवलपरासी, बैशाख ८ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जितपुरमा ७० भन्दा बढी गिद्धहरु मरेका छन्। विश्वबाट लोपोन्मुख हुँदै गएका गिद्धहरु यति धेरै संख्यामा एकैपटक मरेको जिल्लामा यो पहिलो पटक हो। गिद्ध कसरी मरे भन्नेबारे खुल्न सकेको छैन।
गाउँको पोखरीनजिक खेतहरुमा छरिएका मृत गिद्धहरुको व्यवस्थापन हुन नसक्दा दुर्गन्धसमेत फैलिन थालेको छ। मंगलबार बिहान गिद्धहरु मरेको अवस्थामा देखेको स्थानीयले बताएका छन्। गिद्धहरु रहेको स्थाननजिक दुईवटा कुकुर मरेको अवस्थामा भेटिएका छन्।
डोरीले बाँधेर फालिएका कुकुरहरुलाई विष खुवाएर मारेको हुनसक्ने र त्यही कुकुरको मासु खाएका कारण गिद्धहरु मरेको हुनसक्ने आंशका स्थानीयको छ।
गिद्धहरु कसरी मरे भन्नेबारे अनुसन्धान गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीमा नमूना पठाइएको पशु विकास शाखा रामग्राम नगरपालिकाका डा.निरज पासवानले बताए।
दुर्गन्ध फैलिन नदिन नगरपालिकाले गिद्धहरुलाई खाल्डोमा पुर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले जानकारी दिए।


























