चितवन, बैशाख ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पूजा गरी पठाएका मूर्तिसहितको शोभायात्रा माडीका लागि प्रस्थान गरेको छ। मङ्गलबार साँझ देवघाट आइपुगेको सो शोभायात्रा आज बिहान साढे ८ बजे माडीका लागि प्रस्थान गरेको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, गलेश्वर आश्रमका पीठाधीश महामण्डलेश्वर आत्मानन्द गिरीजी महाराज, देवघाट क्षेत्र विकास समितिका पदाधिकारीसहितको उपस्थितिमा स्वस्ति वाचनसहित शोभायात्रालाई बिदाइ गरिएको हो।
आज बिहान देवघाट सङ्गमस्थलको पवित्र जलले जलाभिषेकसँगै राम, सीता, हनुमान र लक्ष्मणको मूर्तिलाई देवघाटबाट बिदाइ गरिएको हो। स्थानीयवासीले कलशयात्रासहित शोभायात्रालाई बिदाइ गरेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए।
माडीको अयोध्याधाममा निर्मित मन्दिरमा राख्नका लागि शोभायात्रासहित प्रधानमन्त्री कार्यालयबाट राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिहरु मङ्गलबार ल्याइएको हो। यसरी ल्याइएका मूर्तिहरु अयोध्यापुरीको रामधाममा निर्मित मन्दिरमा आज दिनको १२ बजे राख्ने कार्यक्रम छ। सो कार्यक्रममा मन्त्री ढकाल, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायतका उच्च अधिकारीको सहभागिता रहने आयोजकले जनाएको छ।
गत असार २९ गते प्रधानमन्त्री ओलीले रामको जन्म माडीको अयोध्यापुरीमा भएको भन्ने अभिव्यक्ति दिएपछि त्यहाँ राम मन्दिर स्थापना गर्ने प्रक्रिया शुरू भएको थियो। प्रधानमन्त्री ओलीको निर्देशनमा तीन महिना अगाडि नै बालुवाटारमा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति स्थापना गरिएको थियो। मूर्तिलाई मङ्गलबार पशुपतिनाथ मन्दिरको परिसरमा रहेको राम मन्दिरमा लगेर स्वस्ति वाचन र मन्त्र उच्चारणसहित पूजा गरेर ल्याइएको हो। उक्त शोभायात्रा दासढुङ्गाको बाटो हुँदै आँपटारी, पुल्चोक, लायन्सचोक, हाकिमचोक हुँदै माडी जाने छ। माडीमा पुगेपछि परशुराम कुण्डको जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्ति स्थापना गरिने छ।
राज्यले सबै धर्मको सम्मान र संरक्षण गर्छ: मन्त्री ढकाल
चितवनको अयोध्यापुरीमा प्रतिस्थापन गर्न लागिएको राम, सीता, लक्ष्मण र हनुमानको मूर्तिसहितको रथयात्रा आज बिहान तनहुँको देवघाटबाट चितवन प्रस्थान गरेको छ। रथयात्रालाई आज बिहान गलेश्वर आश्रम र सिद्धेश्वर आश्रमबाट कलशयात्रासहित बिदाइ गरिएको हो।
रथयात्रालाई देवघाटस्थित आश्रम, धार्मिक एवं सामाजिक सङ्घसंस्था, मठमन्दिर, गुम्बा, सामुदायिक वन उपभोक्ता समूह, टोल विकास संस्था, महिला समूह, आमा समूहलगायतले बिदाइ गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार पूजाआजा गरी पठाउनुभएको रथयात्रा हिजो साँझ नै देवघाट आइपुगेको थियो।
रथयात्रा बिदाइ समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री ढकाल, तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठलगायत सहभागी भएकाछन्। उक्त मूर्ति माडीको अयोध्यापुरीमा लगिनेछ।
मन्त्री ढकालले भगवान् रामको जन्म चितवनको माडीस्थित अयोध्यापुरीमा भएको र त्यसको पुष्टि क्रमशः हुँदै गएको बताए। “हामीसँग रामको जन्मको पुष्टि हुने धेरै आधार छन्। सीता गुफा देवघाटमा भएको र राम नुहाउन देवघाटमा आउने गरेको तथ्य पनि छ”, मन्त्री ढकालले भने। उनले अयोध्यापुरीको विकासका लागि आवश्यक बजेट सरकारले विनियोजन गर्ने प्रतिबद्धता जनाए। राज्यको आफ्नो धर्म नहुने तर राज्यका नागरिकले आफ्नो इच्छाअनुसारको धर्म मान्न पाउने स्वतन्त्रता भएकाले राज्यले सबै धर्मको सम्मान र संरक्षण गर्ने मन्त्री ढकालको भनाइ थियो।
सांसद कृष्णकुमार श्रेष्ठले माडीमा भगवान् रामको जन्म भएको यो कार्यक्रमले पुष्टि गरेको भन्दै प्रधानमन्त्री ओलीको अभियानले सार्थकता पाएको बताए। रासस


























