काठमाडौं, बैशाख ६ । त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेपाल र मलेसियाको खेल हुदैछ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र मलेसियाबीचको खेल अपरान्ह सवा १ बजे शुरू हुनेछ।
पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल सिरिजमा लगातार जित निकाल्ने लक्ष्यका साथ मैदान उत्रिने छ। यता मलेसिया भने पहिलो जितको खोजिमा रहनेछ। नेदरल्यान्ड्ससँग आइतबार भएको खेलमा १५ रनले पराजित भएको मलेसियाको लक्ष्य नेपाललाई पराजित गर्नु रहने छ।
तर, घरेलु मैदानमा नेपाललाई जित्न सजिलो भने हुने छैन्। सिरिजमा अन्डर डग टिमको रुपमा रहेको मलेसियामा नेदरल्यान्ड्सविरुद्ध बलिङमा चुकेको थियो। मलेसिया त्यो गल्ती नेपालसँग गर्न चाहदैन। अर्कोतर्फ मलेसियासँग नेपाललाई २ खेलमा पराजित गरेको आत्मविश्वास छ।
हालसम्म नेपाल र मलेसियाबीच ८ खेल भएका छन्। जसमा ४ टी–ट्वान्टी र ४ टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल छन्। ती खेलमा नेपालले ३ टी–ट्वान्टी र ३ टी–ट्वान्टी अन्तर्राष्ट्रियमा जित निकालेको छ। मलेसियाले पछिल्लो पटक भएको एसीसी इस्टर्न रिजन टी–ट्वान्टीमा नेपाललाई पराजित गरेको थियो। उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो।


























