काठमाडौं, चैत्र ३० । नयाँ प्रजातिको कोरोनाभाइरसको जोखिम बालबालिका र युवामा देखिन थालेपछि संक्रमण बढेका ठाउँमा शिक्षण संस्था बन्द गर्ने छलफल चलिरहेका बेला सरोकारवाला भने विपक्षमा उभिएका छन्।
शिक्षा मन्त्रालयले आज विहान आयोजना गरेको छलफलमा सहभागी शैक्षिक क्षेत्रका सरोकारवालाहरुले परीक्षाहरु आइरहेको भन्दै विद्यालय बन्द गर्न नहुने सुझाव दिएका छन्। गर्नै परे स्थानीय तहहरुले त्यहाँको अवस्था हेरेर गर्न सक्ने नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जुले बताए।
छलफलमा सहभागी परीक्षण बोर्डका अध्यक्ष डा.चन्द्रमणी पौडेल,नगरपालिका संघका अध्यक्ष अशोक ब्यान्जु,प्याव्सन र एनप्याव्सनका पदाधिकारी तथा अभिभावक संघहरुले विद्यालय बन्द नगर्न सुझाव दिएका हुन्।
छलफलमा उठेका कुराहरुलाई आफूहरुले सीसीएमसी हुँदै मन्त्रिपरिषद बैठकसम्म लैजाने शिक्षा सचिव रामप्रसाद थपलियाले बताए। सीसीएमसीले भने संक्रमण बढेका ठाउँमा विशेष गरि काठमाडौं लगायतका शहरी क्षेत्रमा कम्तिमा ३ साता शिक्षण संस्था बन्द गर्न प्रस्ताव लगेको छ।


























