काठमाडौं, चैत्र ३० । मन्त्रिपरिषदको बैठक आज साँझ बस्ने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा नियमित बैठक बस्न लागेको हो। नयाँ प्रजातिको कोभिड संक्रमणको जोखिम बढिरहेका बेला नियन्त्रणका लागि सरकारले चाल्ने थप कदमबारे आजको बैठकमा छलफल हुने बताइएको छ।
उपप्रधानमन्त्री ईश्वर पोखरेल अध्यक्ष रहेको सीसीएमसीको शनिवारको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि ११ बुँदे प्रस्ताव मन्त्रिपरिषदमा सिफारिस गरेको छ।
सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुनेछ। सीसीएमसीले काठमाडौंलगायतका शहरी क्षेत्रमा ३ साता विद्यालय बन्द लगायत अन्य नयाँ मापदण्डहरु सिफारिस गरेको छ।
यसबीचमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले खोप आपूर्तिका लागि भारतीय समकक्षीहरुसँग टेलिफोन संवाद गरिरहेका छन्। सरकार कोभिडको दोस्रो लहर नियन्त्रणतर्फ केन्द्रित रहेको सरकारका प्रवक्ता पार्वत गुरुङले बताए।


























