चैत्र २७ । नेपाली कथानक चलचित्र ‘श्री’ आजबाट प्रदर्शनमा आएको छ। ७२ घण्टामा छायांकन सकिएको यो चलचित्र आजबाट देशभरका हलमा एकसाथ प्रदर्शन गरिएको हो। यो सबैभन्दा छोटो समयमा छायांकन गरिएको चलचित्र हो। यसभन्दा अघि कुनैपनि नेपाली चलचित्र यति छोटो समयमा छायांकन गरिएको थिएन।
एभरेष्ट सूर्य बोहराले लकडाउनको बेला निर्माण गरेको चलचित्र ‘श्री’ निर्देशन पनि आफैंले गरेका छन्। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘श्री’मा सन्दिप क्षेत्री, वर्षा शिवाकोटी, बुद्धि तामाङ, राजाराम पौडेल, वसुन्धरा भुसाल, रवीन्द्र झा लगायतका कलाकारले अभिनय गरेका छन्।
चलचित्र ‘श्री’ डिजिटल प्लेटफर्मबाट मात्रै रिलिज गर्ने निर्देश बोहोराको तयारी थियो। तर, चलचित्र ट्रेलर हेरेपछि वितरक करण श्रेष्ठले हल प्रदर्शनका लागि पहल गरेको बताए।
चलचित्रको कथा निर्देशक बोहोराले नै लेखेका हुन्। बोहोरालाई कथा लेखनमा शिवम् अधिकारीले सघाएका छन्। शेरबहादुर तामाङको छायांकन रहेको चलचित्र सुजन बडालले सम्पादन गरेका हुन्।


























