चितवन, चैत्र १९ । भारत सरकारको करोड ८० लाख बढी रुपैयाँको आर्थिक सहयोगमा श्री राष्ट्रिय प्राथमिक विद्यालय, सुल्ताना (पुनः नामाकरण आधारभूत विद्यालय सुल्तानां) मा नयाँ भवन निर्माण गरेको छ।
नयाँ विद्यालय भवन बुधबार वीरगञ्जस्थित महावाणिज्य दूतावासका महावाणिज्य दूत नितेश कुमार र खैरहनी नगरपालिका ७ का वडाध्यक्ष मेनेजर चौधरीले संयुक्तरुपमा उद्घाटन गरे। उक्त उद्घाटन समारोहमा भारत र नेपालका प्रतिनिधिहरुलगायत विद्यालय व्यवस्थापन समिति, स्थानीय राजनीतिज्ञ र समुदायका नेताहरू पनि उपस्थित थिए।
भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत अनुदान १२ कक्षा कोठा र सरसफाई सुविधा भएको दुई तल्ले विद्यालय भवन निर्माणमा उपयोग गरिएको बताइएको हो। उक्त परियोजना भारत सरकार र नेपाल सरकार बिचको सम्झौता अन्तर्गत एक उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा लिइएको थियो।
श्री राष्ट्रिय प्राथमिक विद्यालयको स्थापना सन् १९७३ मा सुल्ताना, चितवनमा भएको थियो। यद्पि सन् २००४ को बाढीमा विद्यालय पूर्णरुपले ध्वस्त भएको थियो।
विद्यालयलाई गरिएको आर्थिक सहयोग समुदायका विद्यार्थीहरूको लाभ र उनीहरूको शैक्षिक अनुभव वृद्धि गर्नेतिर लक्षित रहेको भारतीय दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। विद्यालय भवन विद्यालयको जरूरतलाई ध्यानमा राखी निर्माण गरिएको छ।
यस परियोजनाले नेपाल र भारत बिचको विकास साझेदारीलाई प्रतिविम्वित गर्नुका साथै शिक्षा क्षेत्रमा पुर्वाधार अभिवृद्धि गर्न नेपाल सरकारले गरेको प्रयासलाई थप बल पुर्याएको दाबी गरिएको छ।


























