मुम्बई, चैत्र १८ । बलिउड अभिनेता अमिताभ बच्चन तथा इमरान हाशमीको नयाँ फिल्म ‘चेहरे’ को ट्रेलरलाई दर्शकले मन पराए। यो फिल्म यही अप्रिल ९ का दिन अर्थात चैत २७ गतेदखि प्रदर्शन हुने निश्चित थियो।
यद्यपि, अहिले आएर यो फिल्म उक्त मितिमा प्रदर्शन नहुने घोषणा गरिएको छ। फिल्मको नयाँ प्रदर्शन मितिका बारेमा अहिले केही पनि जानकारी गराइएको छैन। कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यो फिल्म पूर्व निर्धारित मितिमा प्रदर्शन नहुने भएको हो।
अभिनेता बच्चनले एउटा पोस्ट गर्दै कोरोना भाइरसको बढ्दो संक्रमण तथा नयाँ निर्देशिकालाई मध्यनजर गर्दै चेहरे फिल्म अप्रिल ९ का दिन सिनेमा हलमा प्रदर्शन नहुने जानकारी गराएका छन्।
उनले लेखेका छन्–‘अर्को सूचना नआउञ्जेल सम्मका लागि यो फिल्मको प्रदर्शन स्थगित गरिएको छ। चेहरेको ट्रेलरले निकै राम्रो प्रतिक्रिया प्रतिक्रिया पाएको छ। चाँडै नै सिनेमा हलमा भेट्ने छौं। सुरक्षित रहनु होला। आफ्नो चेहरा (अनुहार) लाई मास्कले ढाक्नु होला र सेनिटाइजरको प्रयोग गर्न नबिर्सनु होला। टीम चेहरे।’
अमिताभ र इमरान यही फिल्ममा पहिलो पटक संगै काम गरिरहेको देख्न पाइनेछ।
एउटा अन्तर्वार्तामा इमरानले अमिताभसंग काम गर्न पाउँदाको अनुभव सुनाउँदै भनेका छन्–‘अमिताभ बच्चन पछिल्लो पाँच दशकदेखि बलिउडका मेगास्टार रहेका छन्। यति लामो समयपछि पनि उनी आफ्नो कामका लागि डेडिकेटेड देखिन्छन्। मलाई सम्झना छ, छायांकनको क्रममा हामी एउटा हिमपातमा फसेका थियौं। पाँच घण्टासम्म उनले त्यही मौसममा रहेर हामीसंग छायांकन गरिरहे, आफ्नो कारमा गएर बसेनन्।’ एजेन्सी


























