चितवन, चैत्र ११ । तेस्रो संस्करणको मिस्टर एण्ड मिस थारु २०२१ को फाइनल प्रतिस्पर्धा यही चैत्र १३ गते शुक्रबार चितवनमा हुने भएको छ। वाईएसी इभेन्ट्सको सहकार्यमा जह इन्टरटेनमेन्टद्वारा आयोजित यस प्रतियोगिताको फाइनल प्रतिस्पर्धा खैरहनीको डिज्नी पार्क रिसोर्टमा हुनेछ।
आज (बुधबार) खैरहनीमा पत्रकार सम्मेलन गर्दै जह इन्टरटेनमेन्टका निर्देशक रुपेश चौधरीले फाइनल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको बताए। यसअिघ देशका विभिन्न सहरहरुमा अडिसन भएको थियो। अडिसनबाट फाइनल प्रतियोगिताका लागि मिस्टर थारुतर्फ १५ र मिस थारुतर्फ १७ जना प्रतियोगीहरु छनौट भएका छन्।
उनीहरु सबै चितवन आइसकेको चौधरीले बताए। यस प्रतियोगिताको विजेता भोटिङ र निर्णायकहरुको निर्णयको आधारमा गरिने उनले बताए। सर्वाधिक भोट ल्याउने प्रतिस्पर्धीले ‘खल्ती पब्लिक च्वाईस अवार्ड’समेत प्राप्त गर्ने वाईएसी इभेन्ट्सका इभेन्ट म्यानेजर जयस चौधरीले बताए।
आयोजकका अनुसार प्रतियोगिताको विजेताले नगद ५० हजार रुपैयाँ, फस्ट रनरअपले ३० हजार रुपैयाँ, सेकेण्ड रनरअपले २० हजार रुपैयाँ र विभिन्न उपहारहरु प्राप्त गर्नेछन्। फाइनलका प्रतियोगीहरुलाई काठमाडौँमा करिव एक महिनासम्म विभिन्न किसिमका प्रशिक्षणहरु प्रदान गरिएको चौधरीको भनाइ छ।
थारु समुदायको उत्थान र कलासंस्कृतिको संरक्षणका लागि थारु युवाहरुले सन् २०१७ देखि यस प्रतियोगिताको सुरुआत गरेका हुन्। यस प्रतियोगिताको पहिलो संस्करणको मिस्टर थारु चन्दन चौधरी र मिस थारु जेनिसा चौधरी भएका थिए भने दोस्रो संस्करणको मिस्टर थारु रवीन चौधरी र मिस थारु आकृती चौधरी भएका थिए।


























