दैलेख, चैत्र ११ । दैलेखको नारायण नगरपालिका–५ स्थित नवदूर्गा आधारभूत विद्यालय धिताहमा सयौंं विद्यार्थी बिरामीले थला परेका छन्। बाल विकासदेखि कक्षा ८ सम्मका विद्यार्थी बिरामी परेपछि ३ दिनका लागि विद्यालय बन्द गरिएको छ।
ज्वरो आउने, रिँगटा लाग्ने र थरथरी आउने लगायतले विद्यार्थी थला परेपछि मंगलवारदेखि ३ दिनका लागि विद्यालय बन्द गरिएको प्राधानाध्यापक घनश्याम रेग्मीले जानकारी दिए। उनका अनुसार आइतवार करीब १५०, सोमवार करीब १०० र मंगलबार ८५ विद्यार्थी बिरामी परेपछि बाध्य भएर चिकित्सक र व्यवस्थापन समितिको सल्लाहमा ३ दिनका लागि विद्यालय बन्द गरिएको हो।
विद्यार्थी बिरामीले ग्रसित भएको खबर जल्ला अस्पताल दैलेखमा पुगेपछि डा.विवेक गुरुङको टोली त्यहाँ पुगेको जिल्ला अस्पतालका सूचना अधिकृत धीरराज रेग्मीले बताए।
विद्यार्थीलाई आरामको आवश्यकता भएको र औषधिले काम गर्ने समय लाग्ने भएकाले विद्यालय बन्द गरिएको रेग्मीले जानकारी दिए। बिरामी सबैलाई जाँच गरी औषधि दिएर घरमा आराम गर्न सुझाव दिइएको उपचारमा खटिएका डा। गुरुङले जानकारी दिए।
यो अन्य कुनै महामारी नभई भाइरल ज्वरो भएको जनाइएको छ। हाल सबै बिरामीलाई औषधि दिइएको र आराम गर्न सुझाव दिइएको जनाउँदै डा.गुरुङले विस्तारै औषधिले काम गर्ने हुँदा धेरै आत्तिनु नपर्ने बताए।
सयौंं विद्यार्थी २ दिनदेखि बिरामी पर्दा निकै चिन्तित भएको स्थानीय यामराज कटुवालले बताए। विद्यार्थी मात्र नभई नारायण–५ छातीकोटका धेरैजसो घरमा बिरामी परेको जनाइएको छ। टोलमा धेरै बिरामी परेको खबर पाएपछि अहिले स्थानीय स्वास्थ्य चौकीमा बिरामीको भीड लाग्ने गरेको स्वास्थ्य चौकी प्रमुख षडानन्द शर्माले बताए। रासस


























