चैत्र ७ । घरेलु टिम न्युजिल्याण्डले पहिलो एकदिवसीय क्रिकेटमा बंगलादेशलाई पराजित गरेको छ। डुनेडीनमा शनिबार भएको पहिलो एकदिवसीयमा न्युजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हराएको हो।
बंगलादेशले दिएको १ सय ३२ रनको लक्ष्य न्युजिल्याण्डले २१ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो। न्युजिल्याण्डको जितमा हेनरी निकोलसले अविजित रहदै ४९ रनको इनिङ्स खेले।
यस्तै मार्टिन गुप्टिलले ३८ रन जोड्दा डेभोन कोनवेले २७ रन बनाए। विल योङ ११ रनमा अविजि रहे। बंगलादेशका हसन ममुद र तास्किन अहमेदले १/१ विकेट लिए।
यस अघि पहिले ब्याटिङ गरेको बंगलादेशले ४१ ओभर ५ बलमा अलआउट हुँदै १ सय ३१ रन बनाएको थियो। बंगलादेशका लागि ममुदउल्लाहले सर्वाधिक २७ रन जोड्दा मुस्फिकर रहिमले २३ रन बनाए। लिटोन दासले १९, मेहेदी हसनले १४ र कप्तान तमिम इकबालले १३ रन बनाए। बंगलादेशलाई सस्तैमा समेट्न न्युजिल्याण्डका ट्रेण्ड बोल्टले ४ विकेट लिए। जेम्स निशम र मिचेल स्टानरले २/२ विकेट लिए। जितसँगै न्युजिल्याण्डले ३ खेलको सिरिजमा १-० को अग्रता बनाएको छ। एजेन्सी


























