काठमाडौं, चैत्र ३ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले प्रतिनिधि सभा विघटन गर्नुपरेको परिस्थिति पुष्टि हुने क्रममा रहेको बताएका छन्। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा एमालेको आफू पक्षिय भेला डाकेर चियापान समारोह गरेका ओलीले यस्तो बताएका हुन्।
‘भेट घाट पनि नभएको र विचार आदान प्रदान पनि हुन नपाएकोले संसद् पनि ठीक ढंगले नचलेको अवस्थामा हामी घेटघाट गरौँ, हल्का जलपान गरौं, चियापन गरौं भनेर बोलाइएको हो,’ ओलीले भने, ‘नयाँ परिस्थिति उत्पन्न भएको छ। केही मानिसहरुले राष्ट्रिय राजनीति नै विथोलेर असहज स्थितिमा पुर्याए।’
संसद् पुनःस्थापना भए पनि बैठक चल्न नसकेको भन्दै उनले माओवादी केन्द्रप्रति टिप्पणी गरे। ‘अब प्रतिनिधि सभा विघटनको परिस्थति पुष्टि हुने अवस्थामा छ। किनभने संसद् पहिलो दिनदेखि आफैँले चल्न नदिने आफैँ बहिस्कार गर्ने। आफैँ व्यवधान खडा गर्ने। आफै नारा लगाउन स्थिति बनेको छ,’ उनले भने, ‘पहिलो बैठकमै अध्यादेश प्रस्तुत गर्नुपर्छ। त्यो सरकारलाई दिइएन। संविधान कार्यान्वयन गर्न दिइएन। कार्यान्वय गर्न व्यवधान गरियो।’
उनले सभामुख अग्निप्रसाद सापकोटा संविधान कार्यान्वयनमा प्रतिबद्ध नदेखिएको आरोप पनि लगाए। ‘संविधानको कार्यान्वयप्रति सभामुखको प्रतिबद्धता रहनुपर्थ्यो। त्यो भन्दा पर भिन्न प्रकारका सेटिङबाट संविधानको कार्यान्वय हुन दिइएन’ ओलीले भने,‘संसदलाई कामकाजी बनाउन खोजिएको छ। निस्प्रभावी बनाउने चेष्टा भएको छ।’


























