चैत्र २ । इंग्ल्यान्डविरूद्धको दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टिम भारत विजयी भएको छ। अहमदाबादमा आइतबार राति भएको खेलमा भारतले इंग्ल्यान्डलाई ७ विकेटले पराजित गरेको हो।
इंग्ल्यान्डले दिएको १ सय ६५ रनको लक्ष्य भारतले १७ ओभर ५ बलमा मात्र ३ विकेट गुमाएर पूरा गर्यो। भारतको जितमा डेब्यु खेलाडी इशान किशन र कप्तान विराट कोहलीले अर्धशतकीय इनिङ्स खेले।
डेब्यु खेलमै अर्धशतक बनाएका किशनले ३२ बलमा ५ चौका र ४ छक्कासहित ५६ रन बनाए। कप्तान कोहली ७३ रनमा अविजित रहे। उनले ४९ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। यस्तै ऋषव पन्तले २६ रन जोड्दा केएल राहुल सुन्य रनमा आउट भए। श्रेयस एयरले अविजित ८ रन बनाए। इंग्ल्यान्डका साम करण, आदील राशिद र क्रिस जोर्डनले १/१ विकेट लिए।
यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६४ रन बनाएको थियो। इंग्ल्यान्डका जासन रोयले सर्वाधिक ४८ रन बनाए। कप्तान इयान मोर्गन २८ रनमा आउट भए। बेन स्टोक्स र डाविड मालनले समान २४/२४ रन बनाउँदा जोनी बेयर्स्टोले २० रन बनाए।
भारतका सार्दुल ठाकुर र वासिङ्गटन सुन्दरले २/२ विकेट लिए। युजभेन्द्र चाहल र भुवनेश्वर कुमारले १/१ विकेट लिए। भारतको जितसँगै ५ खेलको सिरिजमा १-१ को बराबरीमा पुगेको छ।


























