चैत्र १ । युरोपेली संघ (ईयू) ले भारत र पाकिस्तानबीच काश्मीर नियन्त्रण सीमाको जारी युद्ध रोक्ने घोषणाको स्वागत गरेको छ। क्षेत्रीय शान्ति, स्थायित्व र दुई देशबीच संवाद कायम गर्न भारत-पाकिस्तान बीचको युद्धविरामको निर्णय महत्वपूर्ण कदम रहेको ईयूका विदेश मामिला तथा सुरक्षा नीति प्रवक्ता नबिला माश्रलीले टिप्पणी गरेका छन्।
काश्मीर नियन्त्रण सीमामा भारत र पाकिस्तानबीच युद्धविरामको निर्णय स्वागतयोग्य कदम रहेको उनले बताए। केही समयअघि भारत र पाकिस्तानी सेनाका उच्च अधिकारीहरुले काश्मीर सीमामा युद्धबिराम गर्ने सबै निर्णयहरुलाई कार्यान्वयन गर्ने संयुक्त विज्ञप्ति सार्वजनिक गरेका थिए।
विज्ञप्तिमा आपसी चासोको बिषयमा स्वतन्त्र, खुला र सौहार्दपूर्ण छलफल गर्ने उल्लेख गरिएको छ। भारतले पाकिस्तानसँग सामान्य छिमेकीको सम्बन्ध चाहने तर मूख्य विषयहरुमा नीति अपरिवर्तीत रहने भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले बताएका छन्। दुई देशबीचको युद्धविरामको निर्णयलाई अन्तर्राष्ट्रिय समुदायले सकारात्मक कदमको संज्ञा दिएका छन्।


























