चैत्र १ । यस वर्षको महालक्ष्मी साहित्य पुरस्कार–२०७७ सञ्चारकर्मी तथा साहित्यकार डा.नवराज लम्साललाई प्रदान गरिएको छ।
महालक्ष्मी विकास बैंक लिमिटेड र मातृभूमि साहित्य समाज मकवानपुरले संयुक्त रुपमा प्रदान गर्दै आएको पुरस्कारवापत रु ५१ हजार र प्रमाणपत्र शनिबार हेटौंडामा आयोजित कार्यक्रममा डा. लम्साललाई प्रदान गरियो।
उच्च अदालत पाटन इजलास हेटौंडाका न्यायाधीश शेषराज शिवाकोटीले उनलाई पुरस्कृत गरे। धादिङमा जन्मिएका लम्सालले लामो समयदेखि काठमाडौँमा रहेर साहित्य क्षेत्रमा योगदान पुर्याउँदै आएका छन्।
रेडियो नेपालका समाचार प्रमुख डा. लम्सालका कर्ण र धरा दुई महाकाव्य, एक्लै एक्लै, सगरमाथा पाइलैपिच्छे, आगो छोपेर कतिन्जेल शीर्षकका कविता सङ्ग्रह र धुनभित्र धुनबाहिर गीति सङ्ग्रह प्रकाशित छन्। गत वर्ष रु २१ हजार १ रहेको पुरस्कारको राशि यस वर्षदेखि वृद्धि गरी रु ५१ हजार बनाइएको हो।
सोही अवसरमा मातृभूमि राष्ट्रिय सम्मान–२०७७ मातृभूमि साहित्य समाजका पूर्वअध्यक्ष र मकवानपुरे कवि देवराज खरेल तथा मातृभूमि मकवानपुरश्री सम्मान–२०७७ मकवानपुरका खोजकर्ता लेखक केदारप्रसाद न्यौपानेलाई दिइएको छ।
कार्यक्रममा मकवानपुरे स्रष्टा कवि दिनेश शर्मा न्यौपानेको कवितासङ्ग्रह ‘एउटा मृत्यु यो पनि’ विमोचन गरिनाका साथै मकवानपुरे स्रष्टाहरुले आआफ्ना रचना वाचन गरेका थिए। रासस


























