मकवानपुर, फागुन २८ । मातृभूमि साहित्य समाज मकवानपुरले शुक्रबार विभिन्न विधामा १५ वटा साहित्य सम्मान तथा पुरस्कार प्रदान गरेको छ। प्रत्येक वर्ष प्रदान गरिदै आएको सम्मान र पुरस्कार कोरोना र अन्य विभिन्न कारणले प्रदान गर्न बाकीँ रहेका गत वर्षहरूका केहि सम्मान र पुरस्कार समेत शुक्रबार एक कार्यक्रमका बिच प्रदान गरिएको हो।
शनिबार कवि तथा सञ्चारकर्मी प्रा.डा. नवराज लम्साललाई ५१ हजार राशि सहित महालक्ष्मी साहित्य पुरस्कार २०७७ प्रदान गरिनेछ कार्यक्रम रहेको छ भने मकवानपुरका दुई स्रष्टालाई सम्मान गरिने बताइएको छ। महालक्ष्मी विकास बैंकले स्थापना गरेको उक्त पुरस्कार मातृभूमि साहित्य समाजको सहकार्यमा प्रदान गर्दै आइरहेको छ।
यस वर्ष मातृभूमि राष्ट्रिय पुरस्कार, २०७७ बाट संयुक्त रुपमा नाट्यकर्मी सुनिल पोखरेल र निशा शर्मा पोखरेललाई प्रदान गरिएको छ। होमनाथ वलदेवी–मातृभूमि छन्द साहित्य सम्मान २०७७ बाट चितवनका साहित्यकार केशवराज आमोदी, मायादेवि– मातृभूमि पुरस्कार २०७७ बाट काठमाडौंकी कवि अनुराधा शर्मा र मातृभूमि शैक्षिक पुरस्कार २०७७ बाट सुनसरीका सुवर्ण बहादुर थापा सम्मानीत भएका छन्।
यस्तै हातेमालो–मातृभूमि युवा सिर्जनशील साहित्य सम्मान २०७७बाट मकवानपुरका कवि सुवास खनाल, क्षेत्र बहादुर स्मृति–मातृभूमि सम्मान २०७७ बाट मकवानपुरका कवि डा.गणेश कुमार पौडेल, राजकुमार स्मृति–मातृभूमि सम्मान २०७७ बाट आसाम निवासी कृष्ण विक्रम राणा, केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०७७ बाट मकवानपुरका पत्रकार सुवर्णलाल श्रेष्ठ, झलक बहादुर बानियाँ स्मृति जीवन संघर्ष मातृभूमि सम्मान २०७७ बाट मकवानपुरका बिसु लामा र मंगलादेवी श्रेष्ठ मातृभूमि बाल सम्मान २०७७ बाट मकवानपुरकी दिव्या चौलागाईलाई प्रदान गरिएको छ।
यसैगरी इश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७५ बाट चितवनका गजलकार पुष्प अधिकारी, इश्वरी स्मृति–मातृभूमि पुरस्कार,२०७६ बाट जनकपुरको मिथिला नाट्यकला परिषद्, नित्य गोविन्द स्मृति–मातृभूमि संगीत पुरस्कार २०७६ बाट मकवानपुरका बाबु क्षेत्री सम्मानीत भएका छन्। यस्तै श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार २०७६ बाट वीरगञ्जका समाजसेवी राजकुमार सिंधी, शेखर शर्मा रिजाल– मातृभूमि शैक्षिक पुरस्कार २०७६ बाट चितवनका प्रा.डा. नारायण प्रसाद खनाल सम्मानीत भएका छन्। सम्पूर्ण सम्मानित तथा पुरस्कृत व्यक्तित्वलाई नगद सहित प्रमाण पत्र प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न स्रष्टाहरुले आफ्नो रचना वाचन गरी कार्यक्रमको शोभा बढाएका थिए। कार्यक्रममा वरिष्ठ नाट्यकर्मी सुनिल पोखरेल, निशा शर्मा पोखरेल, मातृभूमि साहित्य समाजका संरक्षक मुक्तिगोविन्द वैद्य, संस्थापक अध्यक्ष हयाग्रीव आचार्य, पूर्व अध्यक्ष देवराज खरेल, राजबाबु पहाडी, उपाध्यक्ष कृष्णप्रसाद दाहाल, सदस्य राजन ढकाल लगायतको अतिथ्यता रहेको थियो।


























