म्यानमार, फागुन २७ । म्यानमारको सेनाले प्रजातन्त्रवादी नेतृ आङ साङ सुकीमाथि ६ लाख अमेरिकी डलर बराबरको रकम र सुन अवैधरुपमा लिएको आरोप लगाएको छ। गत फेब्रुअरी १ मा सेनाले आफ्नो हातमा सत्ता लिएपछि सुकीमाथि सबैभन्दा ठूलो आरोप लगाइएको हो। यद्यपि सेनाले यस विषयमा कुनै पनि प्रमाण भने दिएको छैन।
त्यस्तै राष्ट्रपति विन मिन्ट र क्याबिनेटका केही मन्त्रीहरुमाथि पनि भ्रष्टाचारको मुद्दा चलाइएको छ। सेनाले मुलुकमा कू गर्दा सुकीलाई पनि हिरासतमा लिएको थियो। त्यसयता उनलाई कहाँ राखिएको छ भन्ने खुलाइएको छैन। सेनाले सत्ता आफ्नो हातमा लिएसँगै सुकीलाई हिरासतमै राख्न विभिन्न मुद्दा लगाउँदै आएको थियो। यसै सिलसिलामा सुकीमाथि बिहीबार नयाँ मुद्दा लगाइएको हो।
म्यानमारमा सेनाले कू गरेयता मुलुकमा निरन्तर आन्दोलन चल्दै आएको छ। मानिसहरुले सेनाले गरेको कूको विरोध गर्दै मुलुकमा प्रजातन्त्र पुनर्बहालीको माग पनि गर्दै आएका छन्। उनीहरुले हिरासतमा लिइएका सबै नेताहरुलाई तत्काल रिहाइको पनि माग गर्दै आएका छन्। अहिलेसम्म म्यानमारमा सेनाविरुद्धको प्रदर्शनमा ६० भन्दा धेरैको मृत्यु भइसकेको छ। बिहीबार मात्र आन्दोलनमा प्रहरीको गोली लागी कम्तीमा सातजनाको मृत्यु भएको छ। एजेन्सी


























