काठमाडौं, फागुन २७ । सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको अध्यक्षमा अर्जुन गिरी निर्वाचित भएका छन्।
बिहीबार भएको निर्वाचनमा प्रतिद्वन्द्वी कपिलदेव खनाललाई भारी मतान्तरले पराजित गर्दै गिरी अध्यक्ष निर्वाचित भएका हुन्। गिरीले १ सय ६१ मत ल्याउँदा खनालले १४ मत मात्रै ल्याए।
महासचिवमा किशोरजंग थापा विजयी भए। अध्यक्ष गिरी र महासचिव थापा दुवै प्रेस युनियनका हुन्। अकोराबको चुनावमा प्रेस युनियन र प्रेस चौतारीबीच गठबन्धन भएको थियो।
जसअनुसार अध्यक्ष र महासचिवसहित प्रदेशतर्फका खुला सदस्य ३, मधेसी सदस्य १ र खुला सदस्य समेत ७ सिट युनियनले जितेको छ। प्रेस चौतारीले भने वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, जनजाति उपाध्यक्ष, कोषाध्यक्ष र ३ प्रदेश सदस्यसहित ६ सदस्यमा जित हात पारेको छ।
वरिष्ठ उपाध्यक्षमा विष्णु अवस्थी, मधेशी उपाध्यक्षमा निमेष कर्ण, महिला उपाध्यक्षमा वन्दना दनुवार, जनजाति उपाध्यक्षमा मिलन गाहामगर र दलित उपाध्यक्षमा भुवन सिंह निर्वाचित भएका छन्।
सचिवमा सुदर्शन खतिवडा र कोषाध्यक्षमा सरोज पौडेल चुनिएका छन्। अध्यक्षबाहेक अन्य पदाधिकारी सर्वसम्मत चयन भएका हुन्।


























