चितवन, फागुन २७ । आज (बिहीवार) अन्तर्राष्ट्रिय मिर्गौला दिवस मनाइँदै छ। ‘मिर्गौला रोग लागे पनि राम्ररी जिऔँ’ भन्ने नारासहित यो दिवस मनाउन लागिएको हो। सन् २००६ देखि हरेक वर्षको मार्च ११ मा यो दिवस मनाउन थालिएको हो।
नेपालमा मिर्गौला रोगका बिरामी हरेक दिन बढिरहेका छन्। उच्च रक्तचाप, खानपानमा लापरबाही, नियमित स्वास्थ्य जाँच नगर्ने बानीले गर्दा मानिसको मिर्गौलाले काम नगर्ने हुने डाक्टरको भनाइ छ। स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र मानिसहरू स्वास्थ्य संस्थामा जाने गर्नाले समस्या उत्पन्न भएको डाक्टरले बताएका छन्।
नेपालमा हरेक वर्ष तीन हजार पाँच सय जनाको मिर्गौला खराब हुने गरेको देखिएको छ। नियमित मिर्गौला परीक्षण गर्न पिसाबमा क्रिटिनाइनको मात्रा हेरे मात्रै पुग्ने र यो बेलाबेला जाँच गरिरहन डाक्टरको सुझाव छ। यसका लागि सरकारी अस्पतालमा एक सयदेखि एक सय ५० रुपियाँसम्म खर्च हुन्छ।
केही वर्ष अघिसम्म मिर्गौला रोगको उपचार तथा प्रत्यारोपण गर्न नेपाली नागरिक भारतलगायतका देशमा जानुपर्दथ्यो। अहिले नेपालमै सरकारले प्रत्यारोपण केन्द्र खोलेर वार्षिक पाँच सयभन्दा धेरैको प्रत्यारोपण गर्दै आएको छ। केन्द्रबाहेक शिक्षण अस्पतालमा पनि प्रत्यारोपण हुने गरेको छ । वीर अस्पतालमा नियमित मिर्गौला प्रत्यारोपण हुने गरेकोमा अहिले स्थगित भएको छ।
नेपालमा वीर अस्पतालबाट सन् १९९८ देखि पहिलो पटक हेमोडाइलासिस सेवा सुरु भएको थियो। अस्पतालबाट सन् २००८ अगस्ट ८ मा पहिलो पटक मिर्गौला प्रत्यारोपण सुरु गरिएको हो। त्यसको तीन महिनापछि वीर अस्पतालबाट पनि मिर्गौला प्रत्यारोपण गर्न सुरु गरिएको थियो। नेपालको कुल जनसङ्ख्याको १० प्रतिशतमा कुनै न कुनै रूपमा मिर्गौला रोग लाग्ने गरेको छ।


























