काठमाडौं, फागुन २७ । काठमाडौं मेयर्स कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा आज लिग चरणका दुई खेलहरु हुँदैछ। टियु क्रिकेट मैदानमा हुने खेलमा एपीएफ क्लबले काठमाडौं मेयर-११ सँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौंविरुद्ध मैदान उत्रदा एपीएफ तेस्रो जितको खोजीमा हुनेछ। एपीएफ जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा समेत रहेको छ। काठमाडौंलाई हराउँन सकेमा एपीएफ प्रतियोगिताको फाइनलमा पुग्नेछ।
पुलिस यस अघि नै फाइनल पुगिसकेको छ। अब एक टिम फाइनल पुग्न बाँकी रहेको छ। एपीएफ ३ खेलमा ४ अंक जोडेर तालिकाको दोस्रो स्थानमा रहेको छ। काठमाडौं ३ खेलमा २ अंक जोडेर पुछारमा रहेको छ। काठमाडौंको पनि फाइनल पुग्ने गणितीय सम्भावना रहेको छ।
यस्तै मुलपानी क्रिकेट मैदानमा हुने खेलमा त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशसँग खेल्नेछ। आर्मी ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ। बागमती २ अंक सहित चौंथो स्थानमा रहेको छ।
दुबै टिमको फाइनल पुग्ने सम्भावना रहेको छ। तर, अन्तिम खेलमा दुबै टिमलाई जितेर मात्र पुग्ने छैन। दुबै टिमलाई एपीएफको खेलको नतिजामा भर पर्नु पर्नेछ। यदि एपीएफले जितेमा दुबै टिम बाहिरिने छ।


























