चितवन, फागुन २६ । जिल्लामा चितवन मुटु अस्पताल सञ्चालनमा आएको छ। मुटुसँग सम्बन्धित सबै खालका उपचार गर्ने गरी अस्पताल सञ्चालनमा ल्याइएको हो। भरतपुर महानगरपालिका–१० दूरसञ्चार रोडमा मुटुरोग विशेषज्ञसहितको समूहले अस्पताल सञ्चालनमा ल्याएको हो। अस्पतालका अध्यक्ष मुटुरोग विशेषज्ञ डा.शङ्कर लौडारीका अनुसार अस्पतालमा चौबीसै घण्टा मुटुको भिडियो एक्सरे, इको कार्डियोग्राफी, होल्टर मनिटर, एबीपिएम, इसिजी सेवा उपलब्ध छ।
यसैगरी मुटुको मांसपेशीमा पर्ने असरको इकोबाट अध्ययन गरिने स्टे«न इमेजिङ इको, डोबुस्टे«स इको, टिएमटीलगायतका सेवा अस्पतालले दिँदै आएको छ। अस्पतालमा मुटुसँग सम्बन्धित रहेर रेडियोलोजी तथा इमेजिङ सेवा र शल्यक्रियासमेत हुने गर्दछ। अस्पतालमा सिसीयू र आइसीयू सेवासमेत सञ्चालनमा ल्याइएको छ।
अस्पतालमा छिट्टै क्याथल्याब सञ्चालनमा ल्याइँदैछ भने ओपनहर्ट सर्जरीको योजनासमेत रहेको डा.लौडारीले बताए। उनका अनुसार वाग्मती प्रदेशमा गङ्गालाल हृदयरोग केन्द्रपछिको मुटुरोग अस्पतालका रूपमा यसलाई विकास गरिँदैछ। चितवनसहित छिमेकी जिल्लाका बिरामी यसबाट लाभान्वित हुने उनको भनाइ छ।
विगत ११ वर्षदेखि मुटुरोग उपचारमा सक्रिय लौडारी र विगत १३ वर्षदेखि मुटुको उपचारमा संलग्न डा.मणिप्रसाद गौतमको नेतृत्वमा चिकित्सक, स्वास्थ्यकर्मीले अस्पताल सेवा दिँदै आउनुभएको छ। अस्पतालका प्रबन्ध निर्देशक प्रभात शर्माका अनुसार स्वदेशी र विदेशमा रहेका नेपाली गरी २४ जनाको लगानीमा अस्पताल सञ्चालनमा ल्याइएको हो। नेपाली चिकित्सक र स्वास्थ्यकर्मी पनि लगानीकर्ताका रूपमा छन्। हालसम्म रु १० करोड लगानी भएको भन्दै उहाँले सेवा विस्तार गर्दै जाँदा लगानी थपिँदै जाने बताए।
अस्पताल सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामी राजधानी र विदेश जान नपर्ने गरी अत्याधुनिक सुविधासम्पन्न बनाउँदै लगिने शर्माको भनाइ छ। पच्चीस शय्याको सो अस्पतालमा आठ चिकित्सकसहित ४५ जना कार्यरत रहेको अस्पतालका सूचना अधिकारी महेश पाण्डेले बताए। अध्यक्ष डा.लौडारीका अनुसार मुटुरोगको कारकतत्वमा उच्च रक्तचाप, मधुमेह, कोलेस्ट्रोल, धुमपान, मद्यपान, मोटोपन, व्यायाम रहेका छन्। कतिपयलाई वंशाणुगतरूपमा पनि यो रोग देखिने गर्दछ।
नेपालमा प्रति १० हजारमा ४०० देखि ५०० सम्मलाई मुटुरोग हुने गरेको अध्ययनले देखाएको लौडारीले बताए। उनले भने, “वर्षको एकपटक मुटुको परीक्षण सबैले गर्नुपर्छ।” समयमै रोगको पहिचान भएमा उपचार सहज हुने उनको भनाइ छ। मुटुसँग सम्बन्धित विशिष्ट विज्ञलाई समेत अस्पताल झिकाएर परीक्षण गराउने योजना रहेको उनले जानकारी दिए। चितवन मध्यनेपालको मेडिकल क्षेत्रमा अग्रणी जिल्लाका रूपमा परिचित छ। यहाँ भारतीय सीमा क्षेत्रदेखि बिरामी आउने गर्दछन्। मुटुका लागि अलग्गै अस्पताल खुलेसँगै यस क्षेत्रका धेरै बिरामी लाभान्वित हुने देखिएको छ। रासस


























