चितवन । भक्तपुर, मध्यपुर ठिमीका अजयप्रकाश मिश्र र भगत खत्रीले साइकल यात्रा गरेकाे १६ वर्ष बितिसक्यो। साइकल लिएरै नेपालकाे १७ जिल्ला घुमिसके भने नेपालसहित विश्वका एकसयभन्दा बढी देशलाई फन्को मारिसके। यात्राकै क्रममा संकलन हुने आर्थिक सहयोगबाट यात्रा गर्दै आएका यो जाेडीले पछिल्ला केही समययता भने विपन्न बालबालिकाकाे शैक्षिक क्षेत्रमा लगानी गर्न थालेका छन्।
‘हामीले अरुकै सहयाेगकाे माध्यमबाट विश्व घुमेर आफूलाई चिनायाैँ, देशलाई चिनायाैँ, तर आर्थिक अवस्था कमजाेर भएकै कारण विद्यालय जानबाट बञ्चित हुने अवस्थामा पुगेका बालबालिकालाई कसले चिनाउने,’ यात्रामा निस्किएका भगत खत्री भन्छन्, ‘हाम्रो सानाे प्रयासले हाम्रै बाटाे पछ्याउँदै भाेलि देशले खाेज्ने नागरिक बनाेस् भन्ने हाम्राे चाहना छ।’ आफैँ पनि सहयाेगकाे भरमा यात्रा गरिरहँदा त्यसैबाट थाेरैथाेरै रकम बचाएर बालबालिकाकाे लागि खर्च गर्दै आएकाे उनी बताउँछन्।
विशेष गरी विदेशी भूमिमा जाँदा विद्यार्थी भिसामा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुबाट सकारात्मक सहयोग पाएका विश्व साइकल यात्री अजयप्रकाश मिश्रले बताए। यसरी घुम्दाघुम्दै संकलन भएकाे रकमबाटै हालसम्म करिब १५० भन्दा बढी विपन्न बालबालिकालाई विद्यालय पोसाक तथा शैक्षिक सामग्री वितरण गरिसकेकाे उनले बताए। हालसालै चितवनको कालिका नगरपालिकास्थित न्युरेनीमा रहेको आधारभूत विद्यालयमा अध्ययनरत ८० जना विद्यार्थीलाई टिसर्ट वितरण गरेर उनीहरु यात्रामा फर्किएका छन्।
साइकलमा यात्रा गरेर विश्वमाझ नेपाललाई चिनाउने प्रयासमा लागेका उनीहरुले समाज परिवर्तनकाे लागि पनि केही न केही भूमिका खेल्नुपर्छ भन्ने उद्देश्यका साथ सामाजिक क्षेत्रमा पनि आफूहरुलाई सक्रिय बनाउने प्रयास गरिएकाे बताए।


























