काठमाडौं, फागुन १६ । शेयर बजार परिसूचक नेप्सेमा आइतबार भारी गिरावट आएको छ। बजार खुलेको दुई घण्टामा नेप्से परिसूचक ५८.५८ अंकले घटेको छ।
ब्यापार र होटल तथा पर्यटन उपसमूहबाहेकका सबै सूचक घटेका छन्। बिहीबार २५५४ अंकमा पुगेको नेप्से परिसूचक आइतबार कारोबार सुरु हुँदा ३.६६ अंकले बढेको थियो। त्यसपछि निरन्तर ६९ अंकले घटेको बजारमा बिस्तारै सुधार देखिन खोजेपनि सन्तोषजनक भने छैन। दिउँसो १ बजेसम्म दोस्रो बजारमा ५ अर्ब ५ करोड भन्दा धेरैको कारोबार भएको छ।
घट्दो मूल्यमा अहिले पनि बजारमा नेपाल पूर्वाधार विकास बैंक ९निफ्रा० को शेयर कारोबार सबै भन्दा धेरै देखिएको छ। चन्द्रागिरी हिल्सको शेयर सकारात्मक सर्किट लेबलमा कारोबार हुँदा आधा दर्जन भन्दा धेरै कम्पनीको शेयर मूल्य ४ प्रतिशत भन्दा माथि घट्दो लेबलमा कारोबार भइरहेको छ।
बजार निरन्तर ओरालो लागेपछि लगानीकर्ताहरु चिन्तित देखिएका छन्। शेयर लगानीकर्ता एवं नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति अम्बिका प्रसाद पौडेलले बजारमा धैर्यता कायम राख्न लगानीकर्तालाई आग्रह गरेका छन्।


























