फागुन १५ । अमेरिकी गुप्तचर निकायले साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न साउदी युवराज मोहम्मद विन सलमानले स्वीकृति दिएको रिपोर्टमा सार्वजनिक गरेको छ।
बाइडन प्रशासनले सार्वजनिक गरेको रिपोर्टमा साउदी राजकुमारले निर्वासित पत्रकार खशोग्जीलाई पक्राउ गर्न वा हत्या गर्ने योजनालाई स्वीकृति दिएको उल्लेख गरिएको छ।
रिपोर्ट सार्वजनिक गरे लगत्तै अमेरिकाले दर्जनौं साउदीमाथि प्रतिबन्ध लगाए पनि राजकुमार सलमानलाई भने कुनै प्रतिबन्ध लगाइएको छैन। साउदी अरबले भने अमेरिकी रिपोर्ट झुटो र अस्वीकार्य भन्दै खारेज गरेको छ।
राजकुमार सलमानले पनि खशोग्जीको हत्यामा आफ्नो कुनै संलग्नता रहेको अस्वीकार गर्दै आएका छन्। साउदी राजपरिवारका आलोचक खशोग्जीको सन् २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास भित्र हत्या भएको थियो। साउदी अबरले आधिकारिक रुपमा साउदी एजेन्टले खशोग्जीको हत्या गरेको जनाइसकेको छ।
बाइडन प्रशासनले साउदी अरबमा अघिल्लो ट्रम्प प्रशासन भन्दा मानवअधिकार र कानुनी शासनलाई लिएर कडा नीति अख्तियार गर्ने अनुमान गरिएको छ। यद्यपी मध्यपूर्वमा साउदी अरब अमेरिकाको पूरानो र भरमर्दो सहयोगी हो। एजेन्सी


























