फागुन १२ । शेयर बजार परिसूचक नेप्से बुधवार सामान्य बढेको छ। नेप्से १२ दशमलव ५६ अङ्कले बढेर २५ सय ९९ दशमलव शून्य सात विन्दुमा पुगेको छ।
बुधवार जलविद्युत् र अन्य समूहको बाहेक अरू सबैजसो समूहको शेयर बढेको छ। बैंकिङ समूहको शेयर १५ अङ्कले, व्यापारको साढे एक, होटलको साढे ४६, विकास बैंकको १८, फाइनान्सको ६, निर्जीवन बीमाको एक सय ८४, उत्पादनको ५४, माइक्रो फाइनान्सको २२ र जीवन बीमा समूहको शेयर एक सय ८० अङ्कले बढेको छ।
दुई सय चार कम्पनीका एक करोड ६७ लाख कित्ता शेयर ६ अर्ब ७० करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै नेपाल बैंकको ८२ करोड र निफ्राको ५६ करोड रुपैयाँको शेयर किनबेच भएको छ।
निफ्राको शेयर कारोबारमा दिउँसो केहीबेर समस्या आएको थियो। आईएमई जनरल इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशत कमाएका छन्। निफ्राका शेयरधनीले पाँच प्रतिशतभन्दा धेरै गुमाएका छन्।


























