फागुन ९ । नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ‘निफ’, का लागी ३१ देशका ६३ वटा चलचित्र प्रस्तिस्पर्धाको लागि छनौट भएका छन्। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानले वर्षेनी आयोजना गर्दै आइरहेको चौथो नेपाल अन्तराष्ट्रिय चलचित्र महोत्सब ‘निफ’ को लागि संसारका ५२ देश बाट ४५० चलचित्र प्राप्त भएका थिए।
आयोजकको आन्तरिक छनौट समितिले दिएको नम्बरको आधारमा उच्च नम्बर पाउने चलचित्रहरु मध्यबाट ३१ देशका ६३ चलचित्रलाई चौथो नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सबमा प्रस्तिस्पर्धाको लागि छनौट गरिएको छ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर चलचित्रलाई १५ सय अमेरिकी डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ। त्यस्तै सर्वोत्कृष्ट वृत्तचित्रलाई एक हजार डलर राशिको माउन्ट एभरेस्ट अवार्ड प्रदान गरिनेछ।
सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ७५० डलरको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई पाँच सय डलरको बाग्मती अवार्ड समेत प्रदान गरिनेछ। त्यस्तै, नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर चलचित्रलाई एक लाख, उत्कृष्ट सर्ट फिल्मलाई ५० हजार रूपैयाँ पुरस्कार प्रदान गरिनेछ।


























