चितवन । नेक्सस टेक सोलुसन टिम ‘उद्यमशीलता’ प्रतियोगितामा प्रथम भएकाे छ। भरतपुरकाे बोष्टन ईन्टरनेशनल कलेजले आयोजना गरेकाे एमबिएको चौथो ट्राईमेस्टरमा ‘उद्यमशीलता र नवीनता’ विषय अध्ययन गरिरहेका विद्यार्थीहरुबीचको प्रतियोगितामा सहभागी ६ प्रतिष्पर्धीहरुलाई उछिन्दै नेक्सस प्रथम भएकाे हाे।
कलेजका विद्यार्थीहरुकाे करिब ५ महिनाको परिश्रमलाई प्रदर्शन गर्ने उद्देश्यका साथ आयोजना गरिएको उक्त कार्यक्रममा नेपिसिन टिम उप बिजेता बनेकाे थियाे।
प्रतियाेगितामा सहभागी टिमहरुकाे प्रदर्शनलाई चितवन उद्योग संघका वरिष्ठ उपाध्यक्ष मदन घिमिरे, उद्यमशीलता परामर्शदाता सुमेधा गौतम मैनाली एवम् बोष्टन कलेजका एसोसिएट डाईरेक्टर तथा उद्यमशीलताका वरिष्ठ प्राध्यापक पुष्पराज अधिकारीले मूल्यांकन गरेका थिए।
बोस्टनका एमबीए कार्यक्रम निर्देशक ऋषि चापागाँइकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा पोखरा विश्वविद्यालयका सहायक प्राध्यापक टेकबहादुर क्षेत्री विशेष अतिथि थिए। प्रतियोगिताकाे लागि आयाेजक कलेजसँग चितवन उद्योग संघले सहकार्य गरेकाे थियाे भने भेन्चर स्टुडियो र बोष्टन ईभेन्ट्सको सह-आयोजना रहेकाे थियो।
प्रतियाेगिताकाे पुरस्कारस्वरुप बिजेता टिमले आफ्नो व्यवसाय दर्ता गर्नको लागि लाग्ने खर्चको शतप्रतिशत र उप-बिजेताले सोही खर्चको ८०% रकम प्राप्त गर्ने कार्यक्रम आयोजकका तर्फबाट प्रेम गैरेले जानकारी दिए।


























