काठमाडाैं । केही समयअघि मात्रै बजारमा ल्याएको पञ्चेबाजा गीत ‘सुनीमाया’काे चर्चा सेलाउन नपाउँदै बहुचर्चित लोक तथा दाेहाेरी गायक एवम् सर्जक विष्णु खत्रीले अर्को माैलिक दाेहाेरी गीत ‘अँधेरीमा उज्यालो टुकी’ बजारमा ल्याएका छन्। लाेक तथा दाेहाेरी गायिका मीना लामासँगकाे सहकार्यमा याे गीत बजारमा आएकाे हाे। मायाप्रेमलाई गीतकाे मालामा उनेका गायक खत्रीको याे गीतमा लय तथा शब्द संकलन आफैँले गरेका छन्। त्यसाे त खत्री आफैँ गायकमात्र नभई उत्कृष्ट सिर्जना गर्ने सर्जकहरुमा अग्रपंक्तिमै पर्छन्।
सुमधुर क्रियशनबाट बजारमा आएको गीतकाे भिडियो भने विष्णु खत्रीको अफिसियल युट्युब च्यानलमार्फत बिहीबार सार्वजनिक गरिएकाे हाे। गीतमा कृष्ण भाञ्जाले संगीत संयाेजन गरेका छन्। भिडियोमा भने हाेम गुरुङकाे निर्देशन, लाेमश शर्मा र रुविना अधिकारीकाे अभिनय, दुर्गा पाैडेलकाे छायांकन देख्न सकिन्छ भने सम्पादन र रंग संयाेजन नवीन घर्तीमगरले गरेका छन्। विष्णु खत्री र मीना लामाबीच यसअघि ‘झरनाकाे पानी’मा सहकार्य भएको थियो।


























