चितवन ३ फागुन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले संसद पुनःस्थापनाको विकल्प नभएकाे बताएका छन्। साेमबार चितवनकाे भरतपुरमा भएकाे विराेध सभालाई सम्बाेधन गर्दै नेता थापाले प्रधानमन्त्रीकाे कदम संविधानविपरित भएकाेले पुनःस्थापनाकाे विकल्प नभएकाे बताएका हुन्। ‘ओलीले संविधानमा हुँदै नभएकाे अधिकार प्रयाेग गरेर संसद विघटन गर्नु भनेकाे कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाकाे अध्यक्षलाई हटाएजस्तै हाे,’ उनले भने, ‘त्यसैले ओलीकाे कदम असंवैधानिक छ।’
विधिकाे शासन मान्नुपर्ने ठाउँमा ओलीले आफ्नै एकल शासन लाद्न खाेजेकाे उनकाे आराेप छ। ‘हामीले बुझ्नुपर्ने कुरा के हाे भने,’ ‘अब हामीले विधिकाे शासन मान्ने कि ओलीकाे शासन मान्ने भन्ने हाे।’ ओलीले संविधानमा हुँदै नभएकाे अधिकार प्रयाेग गरेर जग हँसाएकाे उनले बताए। संविधानविपरित काम गर्ने मान्छेकाे प्रधानमन्त्री भएर बसिरहन नसुहाउने उनकाे भनाइ छ। ‘प्रधानमन्त्री ओलीले अब कि त घर राेज्नुपर्छ कि त वन,’ उनले भने, ‘संसद विघटन गर्ने अधिकार नहुँदानहुँदै विघटन गरेपछि संविधानले त्यही भन्छ।’
जनताकै मतबाट बहुमतकाे नजिकमा पुगेकाे सरकारबाटै संविधान रक्षा हुन नसक्ने संभावना प्रवल बन्दै गएकाे उनले बताए। ओलीकाे सन्की पाराले जनता सडकमा आएकाे उनकाे भनाइ छ। आफूखुसी गर्न खाेज्ने प्रधानमन्त्रीबाट संविधानकाे रक्षा नहुने नेता थापाले बताए। ‘त्यसैले प्रधानमन्त्री ओलीबाट संविधानकाे रक्षा गर्न नसके त्यसकाे जिम्मा कांग्रेसले लिन्छ,’ उनले भने।

























