काठमाडौं, फागुन २ । कोभिड–१९ का कारण प्रभावित बनेको चालु शैक्षिक सत्रको विद्यालय तहको सबै परीक्षा जेठ महीनाभित्र सक्ने गरी तयारी भएको शिक्षा मन्त्रालयले जनाएको छ। सरकारले यस चालु शैक्षिक सत्रलाई जेठमा सक्ने तयारी गरेसँगै यस वर्षको शैक्षिक सत्र दुई महीना लम्बिएको हो।
शिक्षा पत्रकार समूहले आइतबार गरेको भर्चुअल मिटिङमा बोल्दै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विद्यालय तहका सबै परीक्षा जेठ महीनाभित्र सकेर असारबाट नयाँ शैक्षिक सत्र सुरू गर्ने बताए।
उनले भने, ‘यसका लागि शिक्षा नियमावलीले गरेको व्यवस्थालाई संशोधन गरिएको छ। संशोधित नियमावलीलाई अबको केही दिनभित्र बजेटमा सार्वजनिक गरिने छ।’
आगामी वर्षको शैक्षिक सत्रलाई दुई महीना छोट्याएर चालु शैक्षिक सत्रलाई जेठसम्ममा लैजाने तयारी भएको उनले बताए। यस वर्षको शैक्षिक सत्र दुई महीना लम्ब्याउने र आगामी वर्षको शैक्षिक सत्र १० महीना मात्र सञ्चालन गर्न पनि सकिने उनको धारण रहेको थियो।
त्यस्तै कोभिड–१९ का कारण अन्यत्र गई पढ्न थालेका विद्यार्थीलाई स्थानान्तरण गर्न सकिने गरी शिक्षा नियमावली संशोधन गरिएको पनि उनले जानकारी दिए। सरकारले चालु सरकारको शैक्षिक सत्र अन्त्यको समय सीमा निर्धारण गरेपछि आफूहरुले प्राविधिक तयारी गरेर अन्तिम परीक्षा सञ्चालन गर्न तयार रहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा।डा चन्द्रमणि पौडेलले बताए।
जेठमा शैक्षिक सत्रको अन्त्य गर्दा विद्यार्थीले चार महीनामा विद्यार्थीले कति पढेर कति सिक्छन् भन्ने कुरालाई पनि ध्यानमा राखेर अन्तिम परीक्षाको टुङ्गो लगाउनुपर्ने नेपाल अभिभावक महासंघका अध्य क्ष शुप्रभात भण्डारीले बताए।


























