काठमाडौं, फागुन २ । सिभिल बैंकले नगदरहित अभियानको थालनी गरेको छ। बैंकले सिन्धुलीको सिन्धुलीमाडीमा आयोजित एक कार्यक्रमबाट सो अभियानको थालनी गरेको हो।
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले टेम्पुको भाडा, कमलामाई मन्दिरमा भेटी तथा जुनार खरिदको मूल्य सबै क्युआर कोडमार्फत् भुक्तानी गरी उक्त अभियानको उद्घाटन गरेका थिए।
सिन्धुली क्षेत्रमा चल्ने ७४ वटा टेम्पु तथा ३४ वटा अन्य विभिन्न व्यापारीहरुलाई क्युआर कोड वितरण गरिएको थियो। कार्यक्रममा गभर्नर अधिकारी, कार्यकारी निर्देशक भुवन कँडेल, नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय जनकपुरका प्रमुख निर्देशक दुर्गेश गोपाल श्रेष्ठ, सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ, नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेल, डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख भोला बहादुर विष्ट, बागमति प्रदेशका प्रमुख सुरज दाहाल, कमलामाई नगरपालिकाका मेयर खड्ग खत्री, उ।वा।संघ सिन्धुलीेका वरिष्ठ उपाध्यक्ष अर्जुन कुमार श्रेष्ठ, टेम्पु यातायात व्यवसायीलगायतको उपस्थिति थियो।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले हाल विद्यमान कोरोनाको महामारीमा आफूलाई जोगाउन मात्र नभई नोट छपाई गर्दा खर्च हुने तथा विदेशीने मुद्रा बचाउन र सबै नेपालीको बैंक खाता भन्ने अभियानलाई समेत आत्मसात गर्न पनि नगदरहित अभियान अपरिहार्य भएको बताए।
सिभिल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुनील कुमार पोखरेलले क्युआर कोड प्रविधिको प्रकृया तथा प्रभावकारिता बारेमा प्रस्ट्याएका थिए।
बैंकले आफ्नो ग्राहकहरुलाई क्युआर कोडको प्रयोग गरी विद्युत्तीय प्रणाली मार्फत विभिन्न किसिमका नगद रहित भुक्तानी सेवा उपयोग गर्न प्रोत्साहन गर्दै आएकोमा यसरी नै यातायातका अन्य माध्यमहरुमा पनि क्युआर कोडलाई अझ सशक्त रुपमा देशव्यापी रुपमा लैजाने बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए।
करिब पाँच लाख ग्राहकलाई ११४ शाखा तथा ६ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गरिरहेको सिभिल बैंकले करिब रु। ७८ अर्ब निक्षेप परिचालन गरी रु। ७१ अर्बभन्दा बढी कर्जा लगानी गरिसकेकोे छ।


























