चितनव ३० माघ । देशभरका तामाङ समुदायले शुक्रबार साेनाम ल्हाेछार मनाएकाे छ। मुसा वर्गको बिदाई र गाई वर्गकाे स्वागत गर्दै यसवर्षकाे ल्हाेछार पर्व मनाएकाे हाे। शुक्रबारकाे दिन बिहानैदेखि नजिकैकाे गुम्बामा भेला भएर पूजापाठ गर्नुका साथै एकापसमा शुभकामना आदानप्रदान गरेर ल्हाेसार पर्व मनाइएकाे भरतपुर नगर तामाङ समाजका निवर्तमान अध्यक्ष गंगालाल लामाले जानकारी दिए। आफ्नाे जातीय अस्तित्वकाे लागि पनि तामाङ जातिकाे सांस्कृतिक पर्व ल्हाेसारले विशेष महत्त्व राख्ने उनकाे भनाइ छ।
शुक्रबार छेच्यु थर्पलिङ गुम्बार भरतपुरमा पनि भरतपुर नगर तामाङ समाजले विभिन्न पाँचवटा गुठीहरुकाे सहयाेगमा भव्य कार्यक्रम आयाेजना गरेर साेनाम ल्हाेछार मनाएकाे छ। परम्पराकालदेखि नै मनाउँदै आएकाे पर्वलाई यसवर्ष काेभिडले केही प्रभावित तुल्याए पनि आफ्नाे जातीय पहिचानकाे लागि रित जनाउनै भने पनि मनाउनुपर्ने बाध्यता रहेकाे गुम्बाकी अध्यक्ष पासाङ लामाले जानकारी दिइन्। तर, गुम्बामा बिहानैदेखि भक्तजनहरुकाे खचाखच थियाे।
ल्हाेछार कार्यक्रमकाे लागि प्रमुख अतिथिकाे भूमिकामा रहेकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले हरेक जातिकाे संस्कृति संरक्षणमा स्थानीय तहबाट सहयाेग मिल्ने बताइन्। संस्कृतिकै धनी समुदाय भएकाेले तामाङ समुदायले देशकाे विविधिकरणमा पनि विश्वसामु चिनाउनमा महत्त्वपूर्ण भूमिका खेलेकाे बताइन्।
सामान्य तरिकाले पर्व मनाउने याेजना रहे पनि गुम्बामा तामाङ तथा गैरतामाङहरुकाे समेत उल्लेख्य सहभागीता रहेकाे उनले बताइन्। चितवनमा मात्र नभई देश तथा विदेशमा रहेका तामाङ समुदायले एकापसमा शुभकामना साटासाट गर्नुका साथै मीठामीठा परिकार खाएर पर्व मनाएका छन्। शुक्रबार साेनाम ल्हाेछारकै उपलक्षमा सरकारले सार्वजनिक बिदासमेत दिइएकाे थियाे।


























