माघ २८ । म्यानमारको सेनाले नेत्री आङ सान सूकीको नेतृत्वमा रहेको पार्टी नेशनल लिग फर डेमोक्रेसी पार्टीको मुख्य कार्यलयमा छापा मारेको छ।
सेनाले रातको समयमा कर्फ्युको बेला छापा मारेको बीबीसीले जनाएको छ। अहिले म्यान्मारमा राति ८ बजेदेखि बिहान ४ बजेसम्म देशभर निशेधाज्ञा लागु गरिएको छ। यस्तै आज बिहानैदेखि म्यानमारमा प्रदर्शन सुरु भएको छ। पाँचौँ दिनको प्रदर्शनमा सरकारी कर्मचारीहरू पनि सहभागी भएका छन्।
म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो। सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ चुनाव गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ। गएको नोभेम्बरमा भएको चुनावपछि गठित नयाँ संसद् र त्यसपछिका प्रक्रियाप्रति सेनाले असन्तुष्टि जनाउँदै आएको थियो। एजेन्सी


























