माघ २८ । सैन्य कू को विरोधमा प्रदर्शनमा उत्रिएका नागरिकमाथि म्यानमारमा प्रहरीले बल प्रयोग गरेको छ। प्रहरीले राधानी नेदिपअमा प्रदर्शनमा सहभागी भएकाहरुमाथि रबरको गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
प्रदर्शनमा सेनाले प्रतिबन्ध लगाएको भए पनि हजारौँ नागरिक त्यसको अवज्ञा गरि प्रदर्शनमा सहभागी भएका छन्। प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोलीसँग पानीको फोहोरा तथा अश्रु ग्यास पनि प्रहार गरेको छ। प्रहरीको कुटाइबाट प्रदर्शनमा सहभागी एक महिला गम्भीर घाइते भएकी छन्।
गएको हप्ता निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले समूहमा भेला हुन प्रतिबन्ध लगाएको छ भने रातिको समयमा कर्फ्यू लगाएको छ।
निर्वाचित सत्ता हत्याएर शक्ति हातमा लिने (सैन्य कू) नेताले भने आफ्नो कार्यको बचाउको प्रयास गर्दै आएका छन्। सैनिक प्रमुख जनरल मिन आङ लाइङले गएको नोभेम्बर ८ मा भएको चुनाव निष्पक्ष नरहेको दाबी गरेका छन्। सो चुनावमा निर्वाचित नेतृ आङ साङ सूकीको पार्टीले बहमुत ल्याएको थियो।
सेनाले सत्ता हातमा लिएर एक वर्षका लागि संकटकाल घोषणा गरेपछि त्यसको चौतर्फी विरोध भइरहेको छ। पेशाकर्मी, सर्वासाधारणसहित बौद्ध भिक्षुहरु पनि सेनाको कदमविरुद्ध प्रदर्शनमा उत्रिएका छन्। भिक्षुहरु पनि प्रदर्शनमा आएपछि दबाबमा परेको सेनाले आफ्नो कदमको बचाउन गर्ने प्रयास गरेको हो। एजेन्सी


























