माघ २६ । भारतको उत्तराखण्डमा गएको हिमपहिरोमा परेर सोमबारसम्म १८ जनाको मृत्यु भएको छ। दुई सयभन्दा बढी बेपत्ता भएको उद्धारकर्मीहरुले बताएका छन्। आइतबारको हिमपहिरोका कारण तिब्र बेगको पानी र हिउँले पुल, सडक र दुईवटा विद्युत गृहमा ठूलो क्षति पुगेको छ।
स्थानीयबासी ओम अग्रवालले तिब्र गतिको नदीको भेल पहाड खसेजस्तै देखिएको बताउँदै नदी वरपरको जमिनमा भूकम्प गएझैं अनुभव गरिएको बताए। उत्तराखण्ड सरकारले सोमबारसम्म १८ जनाको शव निकालिएको जनाएको छ। मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले कम्तीमा २०० मानिस हराइरहेको बताए।
बेपत्ता भएका सबैजसो व्यक्तिहरु विद्युतगृहमा कार्यरत मजदुर रहेका थिए। विद्युतगृहको सुरुङमा पसेको बाढी, माटो र ढुंगाका कारण केही मानिस सुरुङभित्रै थुनिएको उद्धारकर्मीको भनाइ छ।
“यो घटना साँझपख भएको थियो भने त्यति ठूलो मानवीय क्षति हुने थिएन। घटना हुँदा मजदुर र श्रमिकहरु काममा थिए,” मुख्यमन्त्री रावतले भनेका छन्।
आइतबार एउटा सुरुङबाट १२ जनालाई उद्धार गरिएको थियो तर २५–३५ जना दोस्रो सुरुङभित्र थुनिएको जानकारी प्राप्त भएको राज्य विपद् राहत अधिकारी पियूष राउटेलाले बताए। उनले भने, “झण्डै सुरुङभित्र करिब ८० मिटर सफा गरिएको छ। अझै १०० मिटर सफा गर्नुपर्ने अवस्था छ।” एजेन्सी


























