काठमाडौं, माघ २५ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले कोभिड प्रभावित श्रमजीवि पत्रकारलाई राहत प्याकेज ल्याउने घोषणा गरेका छन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्धारा आइतबार काठमाडौँमा आयोजित ‘आम सञ्चार र श्रमजीवि पत्रकारः नीति, कार्यक्रम र बजेट’ विषयक छलफल कार्यक्रममा सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले त्यसका लागि आवश्यक सुुझाव दिन पत्रकार महासंघसहित सरोकारवाला निकायलाई आग्रहसमेत गरेका हुन्।
कोभिड प्रभावित सञ्चार गृह र श्रमजीवि पत्रकारहरुलाई तत्काल राहत दिनका लागि प्राप्त भएको सुझावका आधारमा सरकारले राहत कार्यक्रम ल्याउने उनले बताए। सोही अबसरमा गुरुङले संसद नभएका अवस्थामा जरुरी बिधेयक भए अध्यादेशबाट भएपनि कानून ल्याउने जानकारी दिए। मन्त्री गुरुङले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटबारे मन्त्रालयलाई सुुझाव दिन पनि आग्रह गरे। गुरुङले पत्रकारहरुले आफ्नो आचारसंहिता पालना गर्ने कामलाई प्रभावकारी बनाउने उपायको विषयमा मन्त्रालयले सरोकारवाला निकायबाट सुुझावको अपेक्षा गरेको पनि स्पष्ट पारे।
कार्यक्रममा नेपाल पत्रकार महासंघका उपाध्यक्ष दिलिप थापा मगरले कोरोनाका कारण मारमा परेका सञ्चार कर्मीलाई तत्काल राहत दिनुपर्ने बताए। त्यस्तै सूचना बिभागको परिचयपत्रका साथै पत्रकार महासंघको सदस्यका आधारमाा पनि पत्रकारलाई बिमाको व्यवस्था गर्नुपर्ने धारणा पनि बताए। उपाध्यक्ष थापामगरले जेष्ठ पत्रकारलाई दिने भनिएको प्रोत्साहन भत्ताका बारेमा गम्भीर हुन सञ्चार मन्त्रीलाई आग्रह गरे। त्यस्तै अन्य अगुवा पत्रकारहरुले समानुपातीक रुपमा बिज्ञापन बितरण गर्नुपर्नेमा जोड दिएका थिए। श्रमजीवि पत्रकारका समस्या समाधानका लागि भन्दै मन्त्रालयले सरोकारवाला निकायसंग छलफल गरेको हो।


























