काठमाडौं, माघ २५ । सरकारी चेकको भुक्तानी अबदेखि १५ दिनभित्र लिइसक्नुपर्ने भएको छ। सरकारले बनाएको नयाँ नियमअनुसार सरकारी कोषबाट जारी भएको चेकको भुक्तानी अवधि १५ दिनको मात्रै रहने भएको हो।
सरकारले हालै जारी गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७’ सरकारी चेकको भुक्तानी अवधिलाई घटाएर १५ दिनमा झारेको छ। यसअघि यस्तो अवधि ३० दिनको थियो।
नियमावलीको दफा १३२ ले सरकारी कोषबाट भुक्तानीका लागि जारी गरिएको चेकको भुक्तानी अवधि १५ दिनको हुने व्यवस्था गरेको छ। साथै बैंकले नियमावलीले तोकेको अवधि नाघेको चेकको भुक्तानी दिन नमिल्नेसमेत उल्लेख छ। त्यस्तै महालेखा नियन्त्रक कार्यालयले शुक्रबार सबै कोष तथा लेखा नियन्त्रक कार्यालय र नेपाल राष्ट्र बैंकलाई पत्राचार गर्दै नयाँ नियमावलीमा गरिएको व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको छ।


























