माघ २२ । एन्टोइन ग्रिजमन र जोर्डी अल्वाको समान दुई गोल सहयोगमा क्याटलान क्लब बार्सिलोनाले दुई गोलले पछि परेको स्थिति उल्ट्याएर कोपा डेल रेको सेमिफाइनलमा स्थान पक्का गरेको छ।
बार्सिलोनाले घरेलु टोली ग्रानडामाथि ५–३ को पूनरागमन जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। बार्सिलोनाको जितमा थप एक गोल फ्रान्की डि जोङको नाममा रह्यो। ग्रानडाका केनेडी, रोबर्टो सोल्डाडो र फेडे भिकोले गोल गरे।
ग्रानडामा बुधबार राति भएको खेलमा घरेलु टोलीले खेलको ३३औं मिनेटमा केनेडीको गोलबाट अग्रता लिएको थियो। उनले अल्बर्टो सोरोको पासमा गोल गरेका थिए। ४७औं मिनेटमा एन्जल मोन्टोरोको पासमा रोबर्टो सोल्डाडोले गोल गर्दै ग्रानडाको अग्रता दोब्बर पारे।
तर, अन्तिम समयमा बार्सिलोनाले दुई गोल गर्दै खेललाई अतिरित्त समयमा लम्ब्याए। ८८औं मिनेटमा एन्टोइन ग्रिजमनले कप्तान लियोनेल मेस्सीको पासमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्कने संकेत दिए।
इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा जोर्डी अल्वाले ग्रिजमनको पासमा गोल गर्दै बार्सिलोनालाई २–२ गोलको बराबरीमा ल्याउदै खेललाई अतिरिक्त समयमा लम्ब्याए।
१००औं मिनेटमा ग्रिजमनले गोल गर्दै बार्सिलोनालाई ३–२ ले अघि बढाए। तर १०३औं मिनेटमा फेडे भिकोले पेनाल्टीमा गाल गर्दै खेललाई ३–३ गोलको बराबरीमा ल्याए। १०८औं मिनेटमा फ्रान्की डि जोङले तथा ११३औं मिनेटमा जोर्डी अल्वाले गोल गर्दै बार्सिलोनालाई ५–३ को पूनरागमन जित दिलाउदै अन्तिम चारको यात्रा तय गराए। एजेन्सी

























