काठमाडौं, माघ २१ । व्यवसायीले आफूखुशी बढाएको फलामे डण्डीको मूल्य घट्न थालेको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागको निर्देशनपछि दुई उद्योगले प्रतिकिलो चाररचार मूल्य घटाएका हुन्। लक्ष्मी स्टिल र श्री स्टिलले साविकको खुद्रा मूल्यमा उक्त रकम घटाएर नयाँ मूल्य ७७ कायम गरेका छन्। यसअघि उक्त दुई उद्योगले ८१ (भ्याट बाहेक) लिँदै आएका थिए।
फलामे डण्डीको मूल्य बढाएको भन्दै उपभोक्ताले गुनासो गरेपछि विभागले डण्डी व्यवसायीसँग प्रारम्भिक रुपमा छलफल गरेको थियो। उक्त छलफलपछि दुई उद्योगले मूल्य घटाएको जानकारी आएको विभागका प्रवक्ता शिवराज सेढाइँले जानकारी दिए।
“हामीसँग दुई उद्योगको मात्र मूल्य घटाएको जानकारी आएको छ, अन्य उद्योगली घटाउँछौँ भन्नुभएको छ तर घटायौँ भनेर नयाँ मूल्य आएको छैन”, उनले भने। हाल बजारमा कम्पनी अनुसार फलामे डण्डीको बजार मूल्य फरक/फरक रहेको छ। कोरोना महामारीका कारण लामो समयसम्म बन्द भएको निर्माण कार्य सुरु हुनै लाग्दा व्यवसायीले आफूखुशी फलामे डण्डी र सिमेन्टको मूल्य बढाएको भन्दै विभागमा गुनासो आउने गरेको थियो। रासस

























