माघ २१ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा १५ औं सस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन आगामी फागुन १ गते आयोजना हुने भएको छ। मञ्चले बुधबार पत्रकार सम्मेलन गर्दै म्याराथन फागुन १ गते हुने जानकारी गराएको हो। यस वर्षबाट महिलाको हाफ म्याराथन समेत हुने आयोजकले जनाएको छ।
कोभिड–१९ का कारण पोखरा म्याराथन अन्तर्गत आयोजना हुने १० किमी महिला र पुरुष, ५ किलोमिटर छात्र र छात्रा तथा दृष्टि विहिनहरुको दौड र अपाङ्गहरुको ह्विल चियर दौड भने फरक–फरक मितिमा आयोजना हुने मञ्चका अध्यक्ष तेज गुरुङले जानकारी दिएका छन्।
पोखरा म्याराथन अन्तर्गत हुने दृष्टि विहिनहरुको दौड तथा अपाङ्गहरुको ह्विल चियर दौड फागुन २२ गते, १० किमी महिला र पुरुष दौड चैत १४ गते र ५ किलोमिटर छात्र–छात्रा दौड वैशाख ४ गते आयोजना हुने मञ्चले जनाएको छ।
प्रतियोगिता अन्तर्गत ४२.१९५ किमी म्याराथन तर्फ प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने धावकले क्रमश नगद रु २ लाख, १ लाख, ७५ र २५ हजार प्राप्त गर्नेछन्। महिला हाफ म्याराथनमा प्रथम, द्वितिय, तृतिय र चौथो स्थान हासिल गर्ने खेलाडीले क्रमश नगद रु १ लाख, ७५ हजार, ५० र १५ हजार प्राप्त गर्ने मञ्चका महासचिब खेम गुरुङले जानकारी दिए।
त्यस्तै ह्विल चियर महिला÷पुरुष तथा दृष्टिविहिन महिला/पुरुष दौडतर्फ प्रथम, द्वितिय, र तृतिय स्थान हासिल गर्ने खेलाडी क्रमश नगद ७, ५ र ३ हजार प्राप्त गर्ने छन भने १० किलोमिटर महिलारपुरुष तर्फ विजेत खेलाडीले क्रमश नगद रु १५, १० र ५ हजार तथा ५ किलोमिटर छात्र/छात्राको दौडमा विजेता खेलाडीले नगद १०, ७ र ४ हजार प्राप्त गर्ने मञ्चले जनाएको छ।पोखराको प्रतिष्ठित औधोगिक संस्था सफल दुधको मुख्य प्रायोजनमा हुने १५ औं सस्करणको पोखरा म्यारथन सम्पन्न गर्न करिव ५० लाख खर्च हुने मञ्चले जनाएको छ।


























